GB Koirala Banner Ad New

हिमालयन डिस्टिलरीको नाफा  बढ्यो

काठमाडौं ।  हिमालयन डिस्टिलरीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ६७ करोड २७ लाख ४४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले गत वर्षको यसै अवधिको तुलनामा ५३.८९% ले खुद नाफा वृद्धि गरेको हो ।

गत वर्ष यसले ४३ करोड ७१ लाख ६३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीले उत्पादन बिक्रीबाट ३ अर्ब ८९ करोड ५१ लाख रुपैयाँ आम्दानी गरेको छ । गत वर्ष यसै अवधिमा भने ३ अर्ब ५७ करोड ३५ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

कोरोना महामारीको समयमा पनि कम्पनीले उत्पादन बिक्रीमा वृद्धि गर्न सफल भएको छ । नयाँ भेरियन्टको संक्रमण बढ्दै गएकाले आगामी त्रैमासमा भने कारोबार रकममा प्रभाव पर्न सक्ने कम्पनीले विश्लेषण गरेको छ ।

यस्तै, आफ्नो उत्पादन गोल्डेन ओक र ब्ल्याक ओकमा अधिक भर परेको भन्दै कम्पनीले यसै त्रैमासदेखि प्रिमियम ब्राण्डको रुपमा ब्लू ओक नामक मदिराको उत्पादन गरी बिक्री वितरण पनि सुरु गरेको छ । यसबाट कम्पनीको कारोबारमा सकारात्मक प्रभाव पर्ने कम्पनीले विश्वास लिएको छ ।

हिमालयनको चुक्ता पुँजी ५०% ले बढेर ८६ करोड ७७ लाख २ हजार रुपैयाँ पुगेको छ । यस्तै, रिजर्भ कोषमा पनि १८.८६% ले सुधार हुँदै ७६ करोड ८२ लाख ४१ हजार रुपैयाँ जम्मा भएको छ । यसको वार्षिक प्रतिसेयर आम्दानी १०३ रुपैयाँ ३८ पैसा रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ १८८ रुपैयाँ ५४ पैसा रहेको छ ।