काठमाडौं । युनिक नेपाल लघुवित्तको वैशाख २५ गते हुने भनिएको साधारण सभा स्थगित भएको छ । कम्पनीका अध्यक्ष र कार्यकारी निर्देशक दुवै जना कोभिडको कारण अस्वस्थ भएकाले पूर्व निर्धारित विषयवस्तु यथावत रहने गरी सभा जेठ ४ गते सारिएको युनिक नेपाल लघुवित्त कम्पनीले जनाएको छ ।
सभामा कम्पनीले एफपीओ निष्काशन गर्ने प्रस्ताव पेश गर्दैछ । सभा कम्पनीको केन्द्रीय कार्यालय बाँके कोहलपुरमा बिहान ११ बजे जुम मार्फत सुरु हुनेछ । सभामा घोडीघोडा लघुवित्तसँग मर्ज हुने प्रस्ताव पनि छ ।
घोडीघोडा र युनिक नेपाल एक आपसमा मर्ज हुने भएपछि गत कात्तिक २३ गतेदेखि घोडीघोडाको सेयर कारोबार रोक्का छ । यता, युनिक नेपालको आइपीओ जारी नभएकाले नेप्सेमा कारोबार हुँदैन । अब एकीकृत कारोबारपछि घोडीघोडा लघुवित्तको नामबाट सेयर कारोबार खुला हुनेछ ।
यी दुई कम्पनीहरुबीच गत कात्तिक २१ गतेमर्ज सम्बन्धी सहमतिमा हस्ताक्षर भएको हो । सभामा कम्पनीको अधिकृत, जारी र चुक्ता पुँजी वृद्धि गर्ने एजेन्ड पनि छ । कम्पनीलाई राष्ट्रिय स्तरको बनाउन प्रबन्धपत्र र नियमावली संशोधन गर्न परेमा त्यसको अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने एजेन्डा पनि छ ।


























