GB Koirala Banner Ad New

आयल निगमले उपभोक्तालाई नआत्तिन आग्रह, ग्यास प्रर्याप्त छ आत्तिनु पर्दैनः निगम

काठमाडौं । निषेधाज्ञाको समयमा ग्यास अभाव हुन् नदिने भन्दै आयल निगमले उपभोक्तालाई नआत्तिन आग्रह गरेको छ । निगमले पर्याप्त मात्रामा ग्यास आयात गरिरहेकोले उपभोक्तालाई चिन्ता मुक्त रहन आग्रह गरेको हो।

आयल निगमका प्रवक्ता विनितमणी उपाध्यायका अनुसार निगमले चैत महिनामा मात्र भारतबाट ४७ हजार टन ग्यास आयात गरेको छ। त्यसैले निषेधाज्ञा अवधिको लागि पुग्ने ग्यास रहेकोले उपभोक्तालाई ग्यासको अभाव नहुने उनले बताए । उनले भने, “अहिले विभिन्न ठाउँमा निषेधाज्ञा जारी गरेको छ, यो बेला होटल र रेस्टुरेन्ट बन्द छन्। त्यसैले ग्यासको ठुलो खपत खासै हुँदैन।ु

निगमले विश्वस्त पार्न खोजेपनी उपभोक्ता भने आत्तिएर बढी ग्यास खरिद गरिरहेका छन्। यसरी सबैले सञ्चित गर्ने क्रम जारी राख्दा ग्यासको अभाव नै पो हुने हो कि भन्ने चिन्ता सर्वसाधारणमा बढेको छ । तर, हल्लाको भरमा ग्यासको अभाव हुन्छ भन्ने तिर नलाग्न प्रवक्ता उपाध्यायले आग्रह गरेका छन् ।

हाल भारतको कुनै पेट्रोलियम प्लान्ट बन्द नरहेकाले ग्यास अभाव हुने डर नभएको समेत उनले बताए । उनले पछिल्लो समयको खपतले विगतमा भरिएर बसेका सबै ग्यास विक्री भइरहेको उनले जानकारी दिए।

उपाध्यायले भने, ‘अहिले कोभिड सङ्क्रमणको दर बढ्दै गएपछि लकडाउन पनि हुनसक्ने भएकाले उपभोक्तालाई आवश्यक मात्रामा ग्यास जोहो गर्न आग्रह गरेका हौँ । तर, उपभोक्ता अभाव नै हुने भयो भनेर लगभग १०/१५ वटा सिलिन्डर ग्यास राख्न थाले पछि ग्यास अभाव हुने आशङ्का बढेको हो।,

त्यस्तै, यता ग्यास उद्योग सङ्घले खाली सिलिण्डर नराख्न आह्वान गरेसँगै उपभोक्ताले घरघरमा ग्यास सिलिन्डर थुपार्न थालेका छन् । पछिल्लो केही दिन यता सिलिन्डर विक्रेताहरू एकै दिनमा पसल रित्तिन थालेको बताउँछन् ।

निगमले सबै उद्योगलाई माग अनुसार ग्यास भरेर राख्नु भनेर परिपत्र गरेको थियो । त्यसै अनुसार उपभोक्तालाई केही समयलाई आवश्यक ग्यास जोहो गर्न भनिएको थियो ।

अहिले उद्योगको प्लान्ट भरिभराउ रहेको र सिलिण्डर समेत भरी अवस्थामा रहेको उद्योगीहरूले जानकारी दिएका छन् । नेपाल ग्यासको मात्रै काठमाडौँमा १ हजार टन स्टोरेज रहेको सो कम्पनीले जनाएको छ ।