काठमाडौं । सशस्त्र प्रहरी क्लबका गोपीचन्द्र पार्की र धादिङकी सन्तोषी श्रेष्ठले दोस्रो संस्करणको वीर गणेशमान सिंह टेन के रोड रेस प्रतियोगिताको उपाधि जितेका छन् ।
शनिबार विहान काठमाडौंको दरबारमार्गमा आयोजित प्रतियोगितामा पुरुष तर्फ गोपी र महिलातर्फ सन्तोषी च्याम्पियन बनेका हुन् । दुबैले पहिलो संस्करणको पनि उपाधि जितेका थिए । १३ औं सागका स्वर्ण पदक जितेका गोपीले निर्धारित दुरी ३१ मिनेट ४४ दशमलब ४९ सेकेण्डमा पूरा गरे ।
उपाधिसँगै गोपीले ६० हजार नगद प्राप्त गरे । पुरुषतर्फ अनिस थापा मगर ३१ मिनेट ५०।४९ सेकेण्डको समयसहित दोस्रो भए । तीर्थ पुनले ३१ मिनेट ५६।३८ सेकेण्डको समय निकाल्दै तेस्रो भए ।
सागकी स्वर्णधारी सन्तोषीले निर्धारित दुरी ३७ मिनेट ५३ दशमलब ४४ सेकेण्डमा पूरा गरेर ६० हजार नगद प्राप्त गरिन् । महिलातर्फ नेपाल पुलिस क्लबकी राजपुरा पाछि ३९ मिनेट ३० सेकेण्डको समय निकाल्दै दोस्रो र एपीएफकी फुलमती राना ४० मिनेट ५६ सेकेण्डको समय सहित तेस्रो भइन् ।


























