GB Koirala Banner Ad New

व्यवसायीलाई ढकालको सुझाव– ‘सिंगलडिजीट’ ब्याजदरको उपयोग गर्नुस्, लगानी बढाउनु:

काठमाडौँ।नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले यतिखेर सिंगल डिजीटमा रहेको नेपालका बैंक तथा वित्तीय संस्थाको ब्याजदरको उपयोग गर्न र औद्योगिक तथा व्यावसायिक क्रियाकलापमा लगानी बढाउन नेपालका उद्योगी व्यवसायीहरुलाई सुझाउनु भएको छ ।

विर्तामोड उद्योग वाणिज्य संघको सपथ ग्रहण तथा पद हस्तान्तरणसभालाई प्रमुख अतिथिकारुपमा सम्बोधन गर्दै ढकालले भन्नुभयो– नेपालका व्यवसायी साथीहरुलाई मेरो यो आग्रह छ कि अहिले नेपालमा ब्याजदर सिंगल डिजीटमा छ, यसको सदुपयोग गर्नुस र आर्थिक क्रियाकलापहरुमा लगानी बढाउनुस्।

अहिलेको बेला भनेको यस्तो अवस्थामा व्यवसायिक क्रियाकलापहरुमा लगानी गर्ने र उद्योग व्यवसायलाई सस्टेन गर्न सघाउने समय हो, त्यसैले हामी सबैले अहिलेको यो नीतिबाट लगानी बढाउने काममा लाभ लिन सक्छौँ– ढकालले भन्नुभयो।

वरिष्ठ उपाध्यक्ष ढकालले यो ब्याजदरका लागि नेपाल उद्योग वाणिज्य महासंघले नेपाल सरकार र नेपाल राष्ट्र बैंकसँग लबिङ गरेको बताउनुभयो।

ढकालले भन्नभयो– नेपालमा लगानी गर्न र व्यावसायिक एक्टिभिटिजहरु बढाउनका लागि बैंकको ब्याजदर बढी भएको भनी देशका निजीक्षेत्रका व्यवसायीले गुनासो गरेपछि त्यसको अगुवाई महासंघले गर्यो र म पनि एक उद्यमी एवं कमर्सियल बैंकको नेतृत्वकर्ताको हैसियतले पनि लागिपरेँ, जसले गर्दा अहिले ब्याजदर अहिले सिंगल डिजीटमा आएको छ ।

ढकालले स्मरण गर्नुभयो– म एक कमर्सियल बैंकको अध्यक्ष भएपनि यो मेरो पनि एउटा प्रमुख मुद्दा थियो, म एक उद्यमी पनि भएको हिसाबले यसका लागि म व्यक्तिगतरुपमा पनि लागेको थिएँ, हाम्रो लबिङ पछि यो नीति सम्भव भएकोहो।

त्यसैले यो अवसरबाट हामीले लाभ लिनसक्ने अवस्था छ र हामी निजीक्षेत्रका प्रतिनिधिहरु यसबाट लाभान्वित पनि हुन सक्नुपर्छ, यो अवस्था साँच्चिकै देशका उद्योगी, व्यवसायीहहरुले लाभ लिने नै बेला हो, ढकालले भन्नुभयो।

वरिष्ठ उपाध्यक्ष ढकालले झापा होस्या देशका अरु पनि क्षेत्र या जिल्लाका व्यवसायीले त्यहाँका स्थानीय सम्भावना र अवसरहरुलाई राम्रोसँग खोजी गर्नुपर्ने पनि बताउनुभयो।

व्यावसायिक तथा आर्थिक क्रियाकलापको अभिबृद्धिका लागि तथा उद्यमशिलताको विकास र विस्तारका लागि हामी व्यवसायीहरुले आ–आफ्ना स्थानीय स्थानरस्तरमा पनि अवसर र सम्भावना खोज्नुपर्छ, यसैबाट शुरु हुने उद्यमशिलताले नै देशको विकास सम्भव छ।

नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वले ‘भिजन२०३०’ पेपर अघि सारेर मुलुकको निजी क्षेत्रका आवश्यकता र प्राथमिकता निर्धारण गरेर अघि बढ्ने नीति अख्तियार गरेको बताउँदै सो पत्रलाई प्रदेश स्तरमा पनि छलफलका लागि ल्याइने र त्यसमा निजी क्षेत्रका सबैसाथीहरुको सुझावहरु समेटिने जानकारी दिनुभयो।