GB Koirala Banner Ad New

भारतद्वारा नुवाकोटमा हालै पुनर्निर्माण भएका चार वटा विद्यालयहरुको उद्घाटन

काठमाडौं । भारतीय राजदूतावासको प्रेस, सूचना तथा संस्कृति प्रभागका प्रमुख नवीन कुमार  र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नुवाकोटमा पुनर्निर्माण गरिएका चार वटा विद्यालयहरुको संयुक्तरुपमा उद्घाटन गर्नुभयो ।

श्री कालिका, श्री पिमलटार, श्री पञ्चलिङ्गे र श्री सरस्वती माध्यमिक विद्यालय भारत सरकारको पुनर्निर्माण अनुदान अन्तर्गत निर्माण गरिएका हुन् ।

उक्त समारोहमा केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा), जिल्ला आयोजना कार्यान्वयन इकाई (नुवाकोट), ककनी गाउँपालिका, दुप्चेश्वर गाउँपालिका, तारकेश्वर गाउँपालिका, किस्पाङ गाउँपालिकाका प्रतिनिधि एवम् अन्य सरोकारवालाहरुको उपस्थिति थियो।

नेपाल सरकारले निर्धारण गरेको भूकम्प प्रतिरोधी मापदण्ड अनुरुप निर्माण गरिएका यी चार विद्यालयहरुको पुनर्निर्माण लागत करिब १६.७ करोड नेपाली रुपैया रहेको छ। यी नव निर्मित विद्यालयमा कक्षा कोठा भवन, प्रशासनिक भवन, अभ्यास भवन र छात्र तथा छात्राका लागि छुट्टाछुट्टै सरसफाई संरचनाको सुविधा रहेको छ।

यी चार विद्यालयमा अध्ययनरत १८०० भन्दा बढी विद्यार्थीका लागि नवनिर्मित संरचनाले अझ प्रभावकारी वातावरण सिर्जना गर्नेछ। शिक्षाको क्षेत्रमा पुनार्निर्माणका लागि भारत सरकारले ५० मिलियन अमेरिकी डलर आर्थिक सहयोग गर्ने प्रतिबद्घता अनुरुप नेपालका आठ जिल्लामा ७१ वटा शैक्षिक संस्थाको पुनर्निर्माण भइरहेको छ ।

यी चार विद्यालय पनि यही परियोजना अन्तर्गतका हुन्। यस परियोजनाबाट लाभान्वित हुने आठ जिल्लाहरु क्रमशः गोरखा, नुवाकोट, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, काभ्रेपलाञ्चोक, धादिङ र काठमाडौं हुन्। हाल सम्म ८ वटा विद्यालय निर्माण भइसकेका छ न्भने बाँकी ६२ वटा विद्यालयहरु निमार्णाधीन अवस्थामा छन्।

कार्यक्रममा बोल्दै प्रेस, सूचना तथा संस्कृति प्रभाग प्रमुख कुमारले राष्ट्र र जनताको सुनिश्चित भविष्यका लागि शिक्षा नै सर्वोत्तम लगानी रहेको कुरामा विशेष जोड दिनुभयो। शिक्षाको क्षेत्रमा पूर्वाधार सुदृढ गर्ने नेपाल सरकारको प्रयासमा थप बल प्रदान गर्दै भारत सरकारले सन् २००३ यता सयौं शैक्षिक क्याम्पस निर्माण गरि सकेको छ ।

राष्ट्रको विकासमा योगदान पुनयाउन र भारत–नेपाल सम्बन्धलाई अझ मजबुत बनाउन भारत सरकारले प्रदान गर्दै आएको ३००० भन्दा बढी छात्रवृत्तिको लाभ लिन नवीनकुमारले नेपाली विद्यार्थीलाई प्रोत्साहित गर्नुभयो।

यी बाहेक स्वास्थ्य, सांस्कृतिक सम्पदा र आवासका क्षेत्रमा पुनर्निर्माण परियोजनाका लागि भारतले २०० मिलियन अमेरिकी डलर आर्थिक सहयोग प्रदान गर्ने प्रतिबद्घता पनि जनाइ सकेको छ।

अहिलेसम्म गोरखा र नुवाकोट जिल्लामा ४७,००० घरहरु निर्माण भइसकेका छन्र बाँकी घरका निर्माण कार्य अघि बढिरहेको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र सम्बन्धित नगरपालिकाका अधिकारीहरुले लाभग्राहीहरुलाई वर्षायाम आउनु अघि नै निर्माण कार्य सम्पन्न गरि सक्न आग्रह गरेका छन् ।

२०७२ सालको विनाशकारी भूकम्पले क्षति पुनयाएका नेपालका ११ जिल्लाका २८ वटा सांस्कृतिक सम्पदाको पुनस्र्थापना तथा सवलीकरणर १४७ वटा स्वास्थ्य भवनको निर्माण भारतको आर्थिक सहयोगमा भइरहेको छ। पुनर्निर्माण परियोजना यथासक्य चाँडै सम्पन्न गर्न दुवै राष्ट्रिय पुनर्निर्माण प्राधिकरण तथा दूतावास एक आपससँग सहकार्य गर्दै काम गरिरहेको छ।