काठमाडौँ । तोकिएभन्दा बढी भार बोक्ने सवारी साधनलाई कारबाही गरिने भएको छ । सडक संरचनाको संरक्षण तथा यातायात व्यवस्थापनमा पर्ने असर न्यूनीकरण गर्ने उद्देश्यसहित यस्तो कदम चाल्न लागिएको हो ।
तोकिएभन्दा बढी भार बोक्ने सवारी साधनलाई थप कारबाहीको दायरामा ल्याइने यातायात व्यवस्था विभागले जनाएको छ । यातायात व्यवस्था विभागका निर्देशक तथा प्रवक्ता डा. लोकनाथ भुसालले चैत १५ देखि सवारीसाधनले तोकिएभन्दा बढी भार बोकी सञ्चालन गरेको पाइए सम्बन्धित स्थानमै सवारीसाधनबाट सामग्री झारिने र यसबाट पर्ने नोक्सानीको जिम्मेवार सम्बन्धित व्यवसायी नै हुने जानकारी दिनुभयो ।
भुसालले भन्नुभयो, “सवारीसाधनले लोड हुने ठाउँबाट नै ‘लोडसिट’ लिएर हिँड्नुपर्नेछ । ‘लोडसिट’ नभएको जुनसुकै अवस्थामा पनि तोकिएभन्दा बढी भार बोक्ने सवारीसाधन कारबाहीको दायरामा आउन सक्छन् । अब चालकले अनिवार्य रूपमा सवारीसाधनको ‘लोडसिट’ लिएर मात्र यात्रा गर्नुप¥यो ।”
यसअघि तोकिएभन्दा बढी भार बोक्ने सवारीसाधनलाई जरिवाना गर्ने व्यवस्था गरिएकोमा चैत १५ बाट बढी भएको सामग्री सवारीसाधनबाट ठाउँको ठाउँ झारिने गरी काम कारबाही गर्न मुलुकभरि ट्राफिक प्रहरीलाई विभागबाट परिपत्र भइसकेको प्रवक्ता भुसालले बताउनुभयो । सवारी साधनको भारवहन नियमनसम्बन्धी निर्देशिका, २०७४ निर्माण भए पनि अहिलेसम्म त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन ।
यातायात व्यवस्था विभागले सवारी साधनको भारवहन नियमन र नियन्त्रण गर्ने कार्ययोजना अनुसार चितवनको आँपटारी र महोत्तरीको बर्दिबासमा तौल पुल निर्माण भई सञ्चालनमा आइसकेको प्रवक्ता भुसालले बताउनुभयो ।
मुलुकका विभिन्न राजमार्गमा तौल पुल निर्माण गर्न विभागले काम अगाडि बढाएको जानकारी उहाँले दिनुभयो । सवारीसाधनको भारवहन नियन्त्रण कार्यले सडक संरचनाको आयु बढ्नुका साथै सडक दुर्घटनामा समेत कमी आउने विश्वास प्रवक्ता भुसालले व्यक्त गर्नुभयो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले ट्राफिक प्रहरीले पहिलेदेखि नै तोकिएभन्दा बढी भार बोक्ने सवारीसाधनलाई कारबाही गर्दै आएको जानकारी दिनुभयो ।
नेपाल यातायात व्यवसायी महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले तोकिएभन्दा बढी भार बोक्ने सवारीसाधनलाई आर्थिक जरिवाना मात्र नगरी सामान ठाउँको ठाउँ झार्ने गरी कारबाही गर्नुपर्ने बताउनु भयो ।






























