GB Koirala Banner Ad New

मुग्लिन–नारायणगढ सडक खण्डमा १५ वटा नयाँ पुल निर्माणको काम सुरु

चितवन  । मुग्लिन–नारायणगढ सडक खण्डमा १५ वटा नयाँ पुल निर्माणको काम सुरु भएको छ । यो सडक खण्ड दुई वर्षअघि मात्र चौडा पारिएको थियो । सडक फराकिलो हुने तर पुल भने पुरानै साँघुरो अवस्थामा हुँदा सवारीसाधनको जाम नहटेपछि दुईवटा प्याकेजमा १५ वटा पुल निर्माण कार्य सुरु भएको हो ।

पहिलो प्याकेजमा मुग्लिनदेखि सिमलतालसम्म सातवटा र दोस्रो प्याकेजमा सिमलतालदेखि जुगेडीसम्म आठवटा पुल निर्माण सुरु भएको मुग्लिन–नारायणगढ सडक विस्तार आयोजनाका सूचना अधिकारी सविना रानाभाटले जानकारी दिनुभयो । दोस्रो प्याकेजका आठवटै पुलको डिजाइन स्वीकृत भइसकेको छ । आठवटामध्ये छवटा पुलको निर्माण काम सुरु भइसकेको उहाँले बताउनुभयो ।

‘‘पहिलो प्याकेजका धेरै पुलको डिजाइन स्वीकृत हुन बाँकी छ’, उहाँले भन्नुभयो, ‘यी पुलहरू ठेक्का परिसके पछि ठेकेदार आफैँले डिजाइन गर्छ, विभागबाट स्वीकृत भएपछि मात्रै ठेकेदारले काम सुरु गर्छ ।’

पहिलो प्याकेजअन्तर्गतका पुलहरूको डिजाइन स्वीकृत हुने क्रममा रहेको उहाँले बताउनुभयो । पहिलो प्याकेजका पुल निर्माण गर्न करिब ६८ करोड रुपियाँ र दोस्रो प्याकेजका पुल निर्माण गर्न ५९ करोड रुपियाँ लाग्ने अनुमान गरिएको छ । दुई वटै प्याकेजका पुल निर्माणको जिम्मा अनक कन्स्ट्रक्सन कम्पनीले पाएको छ ।

पुल निर्माण गर्न ठेकेदार कम्पनीसँग २०७६ चैत १० गते सम्झौता भएको हो । ‘सम्झौता भइसकेपछि लकडाउन सुरु भयो’, उहाँले भन्नुभयो, ‘२०७७ असारसम्म त कम्पनीले सर्भे गर्न पनि पाएनन् । अहिलेचाहिँ काम धमाधम भएको छ ।’ नारायणगढ–मुग्लिन सडकमा पुराना पुलको चौडाइ छदेखि सात मिटरमात्रै रहेको छ ।

अब बन्ने पुलको चौडाइ नौदेखि ११ मिटरसम्म हुने रानाभाटले जानकारी दिनुभयो । ‘दोस्रो प्याकेजका लगभग सबै पुलको चौडाइ ११ मिटर हुन्छ । पहिलो प्याकेजको चाहिँ ठाउँ हेरेर कुनै पुलको नौ मिटर पनि हुनसक्छ’, उहाँले भन्नुभयो ।

यसअघि ठेक्कामार्फत नारायणगढ–मुग्लिन सडकमा पर्ने चारवटा पुल निर्माण भएका छन् । खानी खोला, दासढुङ्गा र मौरीखोला पुल निर्माण सम्पन्न भइसकेका छन् ।

जलविरेको पुल अन्तिम चरणमा रहेको र यो पुलको डिजाइन परिवर्तन गर्नु परेकाले केही ढिला भएको उहाँले जानकारी दिनुभयो । अहिले यसको भौतिक प्रगति ९५ प्रतिशतभन्दा बढी छ । जलविरेको पुल निर्माण भएपछि करिब तीन सय मिटर बाटो छोटो हुने बताइएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा शालिग्राम नेपालले लेखेका छन ।