GB Koirala Banner Ad New

मेलम्ची पानी सुरुमा पुरानै वितरण प्रणालीबाट

काठमाडौं । सरकारले मेलम्चीको पानी सुरुआती चरणमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को पुरानै प्रणालीबाट वितरण गर्ने भएको छ। मेलम्चीको पानी सुन्दरीजल खसेसँगै नयाँ वितरण लाइन तयार नभइसकेकाले पुरानैबाट वितरण गरिने भएको हो।

काठमाडौं उपत्यका खानेपानी लिमिटेडको आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) का कार्यकारी निर्देशक कमलराज श्रेष्ठले मेलम्चीको नयाँ पाइप लाइनको सम्पूर्ण परीक्षण अहिलेसम्म नभएकाले पानी तत्काल पुरानै पाइप लाइनबाट वितरण गरिने बताए।

‘सुरुङ सम्बन्धी सम्पूर्ण टेस्टिङ र कमिसनिङको काम सकेर नियमित पानी उपलब्ध गराउन थालेसँगै नयाँ पाइप लाइनको परीक्षण सुरु गर्नेछौं,’ उनले भने, ‘पुरानो वितरण प्रणालीबाट जनतालाई पानी उपलब्ध गराउँदै नयाँ पाइप लाइनको परीक्षण अघि बढाउनेछौं।’ निर्देशनालयले पहिलो चरणमा एक लाख १४ हजार घरधुरीमा मेलम्ची पानी उपलब्ध गराउने लक्ष्य राखेको छ।

तर सुरुआती चरणमा करिब २० हजार घरधुरीमा नयाँ जडान गरिएको वितरण लाइनबाट र बाँकी क्षेत्रमा पुरानै वितरण लाइनमा इन्टरकनेक्सन गरेर पानी वितरण गर्ने तयारी छ। ‘सबैभन्दा पहिलो चक्रपथभित्रका उपभोक्ताले नयाँ वितरण प्रणाली मार्फत पानी प्राप्त गर्नेछन्,’ उनले भने, ‘चक्रपथ बाहिरकालाई पुरानैबाट उपलब्ध गराइनेछ।’ आजको नागरिक दैनिकबाट।