काठमाडौं । एनसेलले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत धुलिखेल अस्पतालसँगको सहकार्यमा बहुप्रतिक्षित टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम सुरु गरेको छ । एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ्ले एक औपचारिक कार्यक्रममाझ फागुन १३ गते धुलिखेल अस्पतालअन्तर्गत संचालनमा रहेका ४ वटा स्वास्थ्य केन्द्रलाई टेलिमेडिसिन उपकरण हस्तान्तरण गर्नुभएको हो ।
चोङ् र धुलिखेल अस्पतालका प्रशासकीय निर्देशक डा। रमेश मकाजुले धुलिखेल अस्पतालमा स्थापित एनसेल–धुलिखेल अस्पताल टेलिमेडिसिन र स्वास्थ्य सेवा सूचना केन्द्रको पनि उद्घाटन गर्नुभएको हो ।
प्रविधि तथा तथ्याङ्कमा आधारित स्वास्थ्य सेवा प्रदान गर्ने विधि अपनाएर ग्रामिण, दूरदराजका सेवाबाट बन्चित समुदायहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने यस कार्यक्रमको उदेश्य रहेको एनसेलले जनाएको छ ।
एनसेलले धुलिखेल अस्पतालद्वारा ग्रामिण भेगमा संचालन गरिरहेको स्वास्थ्य केन्द्रहरुलाई टेलिमेडिसिन उपकरण र सेवा प्रवाहका लागि आवश्यक कनेक्टिभिटी पूर्वाधार निर्माण गरी हस्तान्तरण गर्ने भएको छ ।
धुलिखेल अस्पतालका तर्फबाट चिकित्सक र परामर्शदातालगायत कार्यक्रम संचालनका लागि आवश्यक अन्य सहयोगहरु प्रदान हुने एनसेलले जनाएको छ । अस्पतालले कार्यक्रमलाई सफलता पूर्वक संचालन गर्न आवधिक ट्रेनिङ्गहरु र अनुगमनलगायतका कामहरु पनि गर्ने भएको छ ।
पहिलो चरणमा सिन्धुपाल्चोकको मानेखर्क, खोलुखुम्बुको डोर्पु, नुवाकोटको थाङ्गसिन र काभ्रेपलाञ्चोकको बोल्डेमा रहेका सामुदायिक स्वास्थ्य केन्द्रहरुमार्फत कार्यक्रम संचालन हुनेछ । यी केन्द्रहरुले कुल १५ हजारभन्दा बढी घरधुरीका जन समुदायहरुलाई सेवा प्रवाह गर्नेछन् ।
कार्यक्रम संचालनमा आएपछि स्थानीयहरुले दीर्घरोग, नसर्ने रोग, सरुवा रोगलगायतका रोगहरुको उपचार सेवा पाउने एनसेलले जनाएको छ । अबको चार वर्षमा यो कार्यक्रम २० वा त्यसभन्दा बढी स्वास्थ्य केन्द्रमा लागु गर्ने एनसेलको योजना रहेको छ ।
यो कार्यक्रममा टेलिमेडिसिन र पर्सनलाइज्ड हेल्थ प्रोग्राम ९पीएचपी० गरी दुई क्षेत्रमा केन्द्रीत भएर सञ्चालन हुनेछ । टेलिमेडिसिन अन्तर्गत कार्यक्रमले धुलिखेल अस्पतालद्वारा संचालित आठ सामुदायिक स्वास्थ्य केन्द्रहरुबाट आधुनिक टेलिमेडिसिन किट र कनेक्टिभिटीको प्रयोग तथा अस्पतालका चिकित्सक तथा विज्ञहरुसँग सिधै सम्पर्क गराएर गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने एनसेलले जनाएको छ ।
पीएचपी अन्तर्गत यो कार्यक्रम संचालन भएका क्षेत्रका स्थानीयहरुले पर्सनलाइज्ड स्वास्थ्य सेवा पाउनेछन् जसका लागि सामुदायिक स्वास्थ्य केन्द्रहरुले त्यहाँका स्थानीय मानिसहरुको स्वास्थ्य सम्बन्धी नियमित जाँच गर्नेछ र समयमा नै आवश्यक स्वास्थ्य उपचार गर्नेछन् ।
पीएचपीलाई कार्यक्रम संचालन गरिने समुदायहरुभन्दा बाहिरसमेत लाने उद्देश्यकासाथ जन समुदायका मानिसहरुको स्वास्थ्यमा सुधारका लागि तथ्याङ्कमा आधारित व्यवहार परिवर्तनको विकास गर्नु यसको लक्ष्य हो ।
एनसेलले २०७६ साल साउनमा धुलिखेल अस्पतालसँग टेलिमेडिसिन र हेल्थ इन्फर्मेटिक्स् कार्यक्रम संचालनको लागि सम्झौता गरेको थियो । यस कार्यक्रम अन्तर्गत प्रविधि तथा तथ्याङ्कमा आधारित स्वास्थ्य सेवा प्रदान गर्ने विधि अपनाएर ग्रामिण, दूरदराजका सेवाबाट बन्चित समुदायहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्य रहेको छ ।































