काठमाडौं । ग्लोबल आइएमई बैंकले चैत १ गतेदेखि ऋणपत्र बिक्री खुला गर्ने भएको छ । बैंकले ३० लाख युनिट (इकाई) ऋणपत्र बिक्री खुला गर्न लागेको हो ।
यसमध्ये १८ लाख इकाई ऋणपत्र भने बैंकले आफ्नै पहलमा अन्य संघ–संस्थालाई बिक्री गर्नेछ । बाँकी १२ लाख इकाई सर्वसाधारणका लागि खुला भएको हो ।
यसबाट सामूहिक लगानी कोषलाई ५५ अर्थात् ६० हजार इकाई छुट्याएको छ । सर्वसाधारणले बाँकी ११ लाख ४० हजार इकाईका लागि आवेदन दिन सक्नेछन् ।
यस ऋणपत्रमा वार्षिक ८.५०% ब्याजदर पाइनेछ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न लागेको हो । यसमा न्यूनतम २५ इकाईदेखि अधिकतम १० लाख इकाईसम्म आवेदन दिन सकिनेछ । बैंकले १० वर्ष अवधिको ‘८.५०% ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६/०८७’ नाममा ऋणपत्र जारी गरेको हो ।
बिक्री प्रबन्धकको काम सेञ्चुरी क्यापिटलले गर्नेछ । यो ऋणपत्रलाई रेटिङ एजेन्सी इक्रा नेपालले न्यून कर्जा जोखिम जनाउने ‘इक्रा एनपी एलए’ रेटिङ दिएको छ । यो ऋणपत्रमा छिटोमा चैत ४ गते सम्म आवेदन दिन सकिनेछ ।
त्यस अवधिमा आवश्यक मात्रामा बिक्री नभएमा भने चैत १६ गतेसम्म भर्न सकिनेछ । यसमा सी–आस्वामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनको शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।
पछिल्लो समय बैंकहरुले अतिरिक्त पुँजी परिचालनका लागि ऋणपत्र जारी गर्ने क्रम बढेको छ । यस्तै, केन्द्रीय बैंकको बाध्यकारी व्यवस्था पूरा पनि गर्नुपर्ने हुन्छ । धितोपत्र बोर्डको व्यवस्था अनुसार कुल निष्कासित इकाईको ४०% ऋणपत्र अनिवार्य रुपमा सर्वसाधारणमा जारी गर्नुपर्ने हुन्छ ।



























